हेटौँडामा जन्मियो मस्तिष्क टाउको बाहिर भएको शिशु


साउन ४ ,मकवानपुर ,हेटौँडाको हटिया गाविस ५ की सीता बलको कोखबाट शनिबार बिहान जन्मिएको एक शिशुको मस्तिष्क टाउको भन्दा बाहिरै रहेको छ । शनिबार बिहान ९ बजेको समयमा घरमै सुत्केरी भएकी सीताले अनौठो अवस्थामा शिशुलाई जन्म दिएकी थिइन् । सामान्यतः टाउकोभित्र सुरक्षित अवस्थामा रहने मावन मस्तिष्क टाउको भन्दा बाहिरै रहेको अवस्थामा सन्तानको जन्म भएपछि उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो । शनिबार दिनको ३ बजेको समयमा सीता र शिशुलाई उपचारका लागि आफन्तले हेटौँडा अस्पताल लगिएको हो ।

हेटौँडा अस्पतालका बालरोग विशेषज्ञ डा हरिबहादुर खड्काका अनुसार नवजात शिशुमा यस्तो समस्या एक हजार नवजात शिशुमध्ये एकमा देखिन सक्छ । नवजात शिशुमा देखिने यस्तो समस्यालाई ‘माइक्रो सेफाली विथ इन्सेफेलोसील’ सानो टाउको र मस्तिष्क बाहिर हुनु भनिने डा। खड्काले स्पष्ट पार्नुभयो । गर्भवती महिलाले भिडियो एक्सरे गरी गर्भ परीक्षण गराउँदा गर्भ रहेको १४ देखि १६ हप्तासम्ममा भ्रुणमा कुनै किसिमको शारीरिक अविकासको अवस्था भए पहिचान हुन सक्ने डा खड्काले बताउनुभयो । नियमित गर्भ परीक्षण नगराएको सीता बलले बताइन् । नवजात शिशुको अन्य शारीरिक अवस्था सामान्य रहेको छ । साढे २ केजी तौल भएको नवजात शिशुको टाउको भन्दा बाहिर नै भए पनि बाँच्न सक्ने डा। खड्काले बताउनुभयो । तर, डा खड्काले मस्तिष्क नै टाउको भन्दा बाहिर भएका कारण मेनिन्जाइटिसको खतरा रहने बताउनुभयो । सीता बल र राजकुमार बलको दोस्रो सन्तानको रुपमा जन्मिएको शिशु अस्वाभाविक शारीरिक बनोट भए पनि पहिलो सन्तान भने सामान्य रहेको छ । २० वर्षकी सीताको पहिलो सन्तानको रुपमा एउटा छोरा ५ वर्षको छ । मस्तिष्क नै टाउको भन्दा बाहिर रहेको अवस्थामा जन्मिएको नवजात शिशुको अहिले हेटौँडा अस्पतालका चिकित्सकको सघन निगरानीमा छ ।




प्रतिक्रिया दिनुहोस्...