ठप्प भयो वैदेशिक रोजगार .............. पुरा पढ्नुहोस


शून्य खर्चमा वैदेशिक रोजगारीमा पठाउने सरकारको निर्णयविरुद्ध आन्दोलनरत म्यानपावर व्यवसायीलाई श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले वार्तामा बोलाएका छन् ।
व्यवसायीले भने शून्य खर्च स्थगित नभएसम्म वार्तामा नबस्ने बताएका छन् । व्यवसायीले कामदारसँग अत्यधिक रकम उठाउन थालेपछि श्रम मन्त्रालयले २१ असारदेखि शून्य खर्चको प्रावधान कार्यान्वयनमा ल्याएको छ ।
विदेशबाट आउने नि:शुल्क भिसामा पनि म्यानपावर कम्पनीले कामदारबाट पैसा असुल्ने गरेका थिए । म्यानपावर कम्पनीले शून्य खर्चमा आएका मागपत्रमा पनि कामदारबाट चर्काे रकम असुल्दै आएकाले त्यसलाई गुम्न नदिन आन्दोलनमा उत्रिएको श्रम मन्त्रालयको आरोप छ ।
‘पाइलैपिच्छे कमिसन तिनुपर्दा कामदारले आफ्नो खर्च एक वर्षमा पनि उठाउन नसक्ने अवस्था छ,’ मन्त्रालयका प्रवक्ता बुद्धिबहादुर खड्काले नयाँ पत्रिकासँग भने, ‘ठाउँ–ठाउँमा कमिसन लिँदै आएका व्यवसायी आफ्नो आम्दानी गुम्न नदिन आन्दोलनमा सक्रिय छन् ।’
सरकारको निर्णयविरुद्ध म्यानपावर व्यवसायी बुधबारदेखि आन्दोलनमा उत्रिएका थिए । उनीहरूले व्यवसाय ठप्प पारेका छन् । यद्यपि, शून्य खर्चको उनीहरूले सीधै विरोध पनि गर्न सकेका छैनन् ।
सरकारले विनातयारी नि:शुल्क भिसा र टिकटको प्रावधान ल्याएको र त्यसले व्यवसायीलाई मार पर्ने उनीहरूको आरोप छ ।
‘शून्य खर्चका कारण व्यवसाय नै धराशयी हुने अवस्था आएको छ,’ वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकालले भने, ‘श्रममन्त्रीले सस्तो लोकप्रियता लिन खोज्दा मुलुकको अर्थतन्त्र नै धराशयी हुने भएको छ ।’
यो प्रावधानले नेपालको रोजगार कोटा गुम्ने दाबी पनि उनले गरे । अहिले केही प्रतिष्ठित विदेशी कम्पनीले आफ्नै प्रतिनिधि पठाउँदा मात्र सीमित कामदार थोरै खर्चमा वैदेशिक रोजगारमा जान पाएका छन् ।
व्यवसायी पनि यसलाई स्वीकार गर्छन् । वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष बलबहादुर तामाङले व्यवसायीमा देखिएको अस्वस्थ प्रतिस्पर्धाले कामदार खर्च बढेको बताए ।
‘विदेशी कम्पनीमध्ये केहीले मात्र नि:शुल्क भिसा र हवाई टिकट दिन्छन्, केहीले नि:शुल्क भिसा दिए पनि हवाई टिकट दिँदैनन् । श्रम मन्त्रालयले बोलाएको वार्तामा गएर व्यवसायीले आफ्ना कुरा स्पष्ट रूपमा राख्नुपर्छ,’ उनले भने । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।




प्रतिक्रिया दिनुहोस्...