बुटवलकी ब्युटिसियनको यूएईमा ब्युटिपार्लर र रेष्टुरेन्ट
वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीहरुको लाम हेर्न विदेश जाँनै पर्दैन । काठमाडौस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने हो भने विदेश जाने नेपालीको ताँती देखिन्छ ।
रोजगारीका लागि विदेश गएका ३६ लाख नेपाली मध्ये तीन लाख नेपाली संयुक्त अरब इमिरेट्स (यूएई)मा छन् । तीन लाख नेपालीको भिडमा केही नेपाली भनै आफै स्वरोजगार छन् भने केहीले अरु नेपालीलाई समेत रोजगारी दिएका छन् । अरु नेपालीलाई रोजगारी दिनेमा नेपालीमा केही महिला समेत छन् । ती मध्येकी एक हुन्, बुटवलकी दीपा पाण्डे ।
आजभन्दा १७ वर्षअघि रिसेप्सनिस्टको काम गर्न ४ सय दिराम्स तलबमा काम गर्न आएकी पाण्डे अहिले यूएईको नेपाली समुदायमा सफल व्यावसायीमात्र होइन, दानवीर समाजसेवी तथा सम्मानित नारीका रुपमा परिचित छिन् ।
पेसाले ब्युटिसियन पाण्डेका दुई वटा ब्युटीपार्लर सञ्चालनमा छन् भने सिल्भर स्पुन नामको एक रेस्टुरेन्ट पनि सञ्चालनमा छ । उत्तरी इमिरेट फुजेरामा पार्लरको नयाँ शाखा खोल्ने तयारी गरिरहेकी पाण्डेको संलग्नता रेस्टुरेन्ट व्यावसायका अलवा सामाजिक क्षेत्रमा पनि लोभलाग्दो छ ।
इमानदार, काममा प्रतिबद्ध, सस्तो मूल्यमा श्रम बेच्न विवश श्रेणीका श्रमिकको रुपमा परिचित नेपालीमाझ करिब १ सय ५० जनाभन्दा बढी नेपालीहरु यस्ता पनि छन्, जस्ले आफैैं कम्पनी खोलेर नेपालीहरुको परिचय श्रमिक मात्र होइन, ‘नेपालीहरु मालिक पनि छन् भन्ने प्रमाणित गरिरहेका छन् र अरुलाई रोजगारी पनि दिइरहेका छन् ।
ट्याक्स फ्री र खुल्ला बजार नीतिका कारण पैसा, आत्मविश्वास र अनुभव भए यूएईमा कप्मनी दर्ता गर्न सहज छ । करिब ४ हजार डलरमै कम्पनी दर्ता गर्न सकिन्छ । यसरी आफैं व्यवसाय गर्ने अधिकांश नेपालीहरुको व्यापार फस्टाएको पनि छ ।
उनीहरुले व्यावसायिक हित तथा सहकार्यका लागि ‘नेपाली बिजिनेस काउन्सिल’ स्थापना गरेका पनि छन् । दुबईको प्रशासनमा आधिकारिक रुपमा दर्ता गर्ने प्रक्रियाको अन्तिम चरणमा पुगेका पनि छन् ।
परदेशमा पनि नेपाली स्वादमा दालभात, तरकारी, अचार, ढिंडोदेखि लिएर मम र चाउमिनका स्वादिष्ट परिकार तयार पारी नेपालीहरुलाई सेवा दिइरहेको रेस्टुरेन्टको लर्कोमा ब्युटिसियन पाण्डेको सिल्भर स्पुन नेपाली रेस्टुरेन्टले आफ्नो छुट्टै ख्याति कमाउन सफल छ ।
लुम्बिनी वेल्फेयर सोसाइटीको महिला विभाग प्रमुख तथा यूएईको पहिलो सामाजिक संस्था नेपाली समाजको उपाध्यक्षको पदमा रहेर पाण्डेले समाजसेवामा पनि आफूलाई अग्रस्थानमा राखेकी छिन् । पाण्डेले आफ्नो व्यावसायको आम्दामीको २५ प्रतिशत कमाई अनाथ, अपांग बालबालिका, बेसहारा महिला तथा वृद्धवृद्धालाई खर्च गर्ने बताउँछिन् ।
विगत लामै समयदेखि पशुपतिको वृद्धाश्रम, बुटवलका अनाथालयमा नियमित सहयोग गरिरहेकी पाण्डे यूएईमै पनि समस्यामा परेका नेपालीहरुलाई खालि हात पार्दिनन् ।
४ सय मासिक सेलरीमा काम गर्न आएकी थिएँ
पाण्डेले आफ्नो विगत सम्झिन्, ‘म एक इन्डियन कम्पनीमा ४ सय मासिक सेलरीमा काम गर्न आएकी थिएँ । काम ठिकै भए पनि कमाइ राम्रो नभएको कारण पार्लरको टे्रनिङ लिएँ । पार्लर सिकिसकेपछि मैले ब्युटिसियन भएर काम १० वर्ष काम गरें ।’
पाण्डेले आफ्नो पारिवारिक पृष्ठभूमि व्यापारिक नभएको बताइन् । व्यापारमा सफल हुनलाई पारिवारिक वातावरणले सहयोग गर्ला तर यस मामिलामा ठूलै चुनौती स्विकार गरेर व्यापार गरेको उनले अनलाइनखबरलाई बताइन् । उनले भनिन्, ‘व्यापार गर्ने सपना सानैदेखि थियो । समयले साथ थियो । पार्टनर असल भएका कारण मेरो सपना केही हदसम्म सफल भएको छ ।’
बरदुबई नेपालीहरुको भेटघाटको केन्द्र हो । शुक्रबारे छुट्टीमा नेपालीहरुबीच आपसी भेटघाट गर्ने र खाना खाने स्थानमै रहेको उनको रेस्टुरेन्ट धेरै नेपालीहरुको रोजाइमा पर्ने गर्छ । शुक्रबार एकै दिनको बिजिनेसले सात दिनको ग्यापलाई कभर गर्ने उनको अनुभव छ । नेपालीहरुले नेपाली स्वाद नै रोज्छन् । सफा तथा राम्रो सेवा र स्वादको संगमका रुपमा लोकप्रिय उनको रेस्टुरेन्टको विशेषता रहेको छ ।
रेस्टुरेन्टको राम्रो पक्ष नेपालीपन
पाण्डेका अनुसार रेस्टुरेन्टको राम्रो पक्ष भनेको नेपालीपन हो । स्वादमा नेपालीपन अनि सेवामा आफ्नोपन ।सबै कस्टमरलाई भित्री दिलदेखि मुस्कुराएर स्वागत गर्ने उनले बताइन् ।
विभिन्न परिकारहरु स्वादिष्ट, स्वच्छ, ताजा र सफा छन् भन्ने धेरै नेपालीहरुमा छाप बसिसकेको उनको दाबी छ । उनले सेवालाई अझ स्तरवृद्धि गर्ने अभियानमा लागेको बताएकी छिन् । आफ्ना लक्षित ग्राहक नेपालीहरु नै हुन् भन्ने पाण्डेले नेपाली खाना नै मुख्य मेनु रहेको बताइन् ।
सस्तो दरमा स्वादिष्ट खाना खुवाउनेमा आफ्नो रेस्टुरेन्ट पर्ने बताउँदै उनले भनिन्,’हाम्रोमा आएका कस्टमर अरुतिर बिरलै जान्छन् । उनीहरु हाम्रो सर्भिस र सत्कारबाट प्रभावित छन् । नेपाली रेस्टुरेन्ट त धेरै छन् तर सिल्भर स्पुन एउटै छ र त्यो नै काफी छ ।’
पाण्डेको ब्युटिफेस नामको आफ्नो पार्लर व्यावसाय पनि सफलतापूर्वक सञ्चालन भइरहेको छ । उनले पार्लरमा १० जनालाई रोजगारी समेत दिएकी छिन् भने त्यत्तिकै संख्यामा रेस्टुरेन्टमा नेपाली कामदारहरु रहेका छन् । पार्लरमा उनका ग्राहक नेपालीका अतिरिक्त अरबी, भारतीय, पाकिस्तानी र फिलिपिन्स पनि रहेको जानकारी दिइन् । आफ्नो अनुभवको क्षेत्र भएका कारण उनले पार्लर व्यावसायबाट राम्रो सफलता पाएको बताइन् ।
गत फेब्रुअरी महिनामा नेपाल गएका बेला एक लाख भन्दा बढीका भौतिक सामग्री बुटवलको अनाथालयमा प्रदान गरेकी थिइन् । त्यसका अलावा धेरै ठाउँमा आर्थिक सहयोग गरेकी छन् ।