यिनीहरु नै हुन कैलालीमा खुँडा र भाला प्रयोग गर्न उकसाउने हरु


काठमाडौं - कैलालीमा नेपाल प्रहरीका एसएसपीसहित ठूलो संख्यामा प्रहरी मारिएको घटना उचाल्नमा केही हदसम्म नेपाली कांग्रेसका नेता तथा सभासद अमरेश कुमार सिंह, सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव जिम्मेवार रहेको आरोप लागेको छ । उनीहरुले केही दिन अघि कैलालीमै गएर चर्को भाषण गर्दै साम्प्रदायिक दंगा फैलाउने खालको अभिव्यक्ति दिएका थिए । 



उनीहरुको उक्त अडियोबारे संसदले छानविन पनि गरेको थियो । विधानसभाको आइतबार बसेको बैठकमा संघीय थरुहटका सभासद् रुक्मणी चौधरीले अब जनता भालासहितका हतियार लिएर उत्रने चेतावनी दिनुका साथै दुई साताअघि कांग्रेस सभासद् अमरेशकुमार सिंह, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले पहाडीलाई खुँडा र भाला रोप्दै लखेट्ने घोषणा टीकापुरमै गरेका थिए। कतिपय सभासद्ले तराईमा अकल्पनीय घटना गराउने चेतावनी दिएको केही दिनमै कैलालीमा प्रहरीका उच्च अधिकारीलगायत सुरक्षाकर्मीहरूलाई भाला रोपेर मार्नुले योजनाबद्ध रूपमै यस्तो घटना भएको पुष्टि भएको गृहमन्त्री वामदेव गौतमले दाबी गरेका छन् । 

गृहमन्त्री गौतमले कैलालीको टीकापुर घटनापछि संसदमा बोल्दै यस्तो दावी गरेका हुन् । अन्नपूर्ण पोष्ट लेख्छ, कैलालीमा बिहानदेखि नै उत्तर, दक्षिण, पूर्व, पश्चिम चारैतिरबाट भाला, खुकुरी, बन्चरो, हँसियाजस्ता घरेलु हतियार लिएर आएका व्यक्तिले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई घेराबन्दी गरी निर्ममतापूर्वक हत्या गरेको जानकारी गृहमन्त्रीले संसद्मा दिए। एसएसपी लक्ष्मण न्यौपानेलाई भाला रोपेर आगो लगाउँदै मारेको र अन्य सुरक्षाकर्मीलाई पनि त्यसरी नै निर्मतापूर्वक हत्या गरिएको उनले बताए। सुरक्षाकर्मीमाथि आक्रमण गर्नेहरूले सर्वसाधारणको घरमा लुकेर आश्रय लिएको दाबीसमेत गौतमले संसद्मा गरे। रौतहटको गौरमा पनि दक्षिणसहित चारैतिरबाट भाला, डन्डालगायतका हतियार लिएर सरकारी कार्यालयमा आक्रमण भएको उनले बताए। सर्लाहीलगायत अन्य तराईका जिल्लामा पनि त्यस्तै आक्रमण गर्ने योजना रहेको जानकारी गृहमन्त्री गौतमले दिए। आक्रमणमा बिभत्ससँग मारिएका कतिपय सुरक्षाकर्मी चिन्नसमेत नसकिने अवस्थामा रहेको गौतमले बताए। 

कैलाली घटना निन्दनीय र असामान्यः प्रधानमन्त्री 

प्रधानमन्त्री सुशील कोइरालाले कैलालीलगायतका जिल्लामा सोमबार भएका घटना संविधान, लोकतन्त्र र विकासको बाधक रहेको बताएका छन्। उनले संसद्मा भने, ‘आज कैलालीलगायतका ठाउँमा भएका घटनाले आमनेपालीलाई चिन्तित र संवेदनशील बनाएको छ। संविधानमा सबैको भावना समेटिएको छ र अझै पनि यो कार्य जारी छ।’ आफूले राष्ट्रका नाममा सन्देश दिएको भोलिपल्टै यस्तो निन्दनीय घटना हुनुलाई सामान्य रूपमा लिन नसक्ने उनले बताए। गृहमन्त्रीले घटनाबारे आवश्यक जानकारी दिइसकेको हुँदा सामाजिक सद्भाव खल्बलिने कार्य सबै क्षेत्रबाट रोक्न प्रधानमन्त्रीले अपिल गरे। 

‘म विनम्रताका साथ अनुरोध गर्छु, कैलालीको टीकापुरमा जस्तो घटना रोकौं, यसका लागि हरप्रयास गरौं,ु उनले भने । संविधान नआओस् भन्दै बिथोल्ने कार्य ठिक भएन भन्दै उनले थपे, ‘७० वर्षदेखि जनताले चाहेअनुसार संविधान निर्माण कार्य अहिले अन्तिम अवस्थामा पुगेको छ। उत्तेजना होइन, सामाजिक सद्भाव र धार्मिक सद्भावले नै संविधान निर्माण पूरा हुन्छ ।’ उनले संविधान पत्थरको लकिर नभएको उल्लेख गर्दै आवश्यकताअनुसार संशोधन हुनसक्ने बताए।





प्रतिक्रिया दिनुहोस्...