घरको गारो भत्किएर दुईजनाको मृत्यु


४ भदौ, काभ्रे । काभ्रेपलाञ्चोकको टुकुचानाला–८ मा अविरल वर्षाका कारण बिहीबारराति घरको गोरो भत्किएर दम्पतीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ४१ वर्षीय लक्ष्मण केसी र ३५ वर्षीया गीता केसी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए । घटनामा घाइते भएका नौ वर्षीय छोरा विजय केसी र गीताको दिदीको छोरा १२ वर्षीय दिनेश कार्कीको बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचारपछि घर फर्किसकेका छन् ।
भूकम्पपछि ढुङ्गा र माटोको गारो लगाएर घर बनाएका केसी दम्पतीको केही दिनयतादेखि निरन्तर परिरहेको वर्षाका कारण गारो भत्किएर मृत्यु भएको प्रहरीले जनाएको छ । झन्डै एक साताअगाडि टुकुचानाला गाविसमा पहिरो खस्न थालेपछि जोखिम बढेको भन्दै स्थानीय प्रशासनले वडा नं ५, ६ र ७ का करिब एक दर्जन परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको थियो ।
यसैबीच जिल्लाको सस्र्युखर्क–४ खानीगाउँमा पनि पहिरो खस्दा भित्री सडकखण्ड अवरुद्ध भएको छ । प्रनाउ केसीका अनुसार ३० मिटर लामो पहिरो खसेका कारण तामाघाटदेखि ठूलोपर्सेलसम्म जाने कच्ची सडकखण्ड पनि अवरुद्ध भएको हो । रासस






प्रतिक्रिया दिनुहोस्...