मलेसियामा सेक्युरिटी गार्डमा गएका नेपालीको तलव बढ्ने


फ्रि भिसा र टिकटमा मलेसियन सरकार सकारात्मक
प्रकाश ढुंगाना मलेसिया (क्वालालाम्पुर) भदौ ८

मलेसियाका उपप्रधान तथा गृहमन्त्री जाहिद हमिदीले सेक्युरिटी गार्डका लागि मलेसिया आएका नेपाली कामदारको तलव लगायतका सुविधा बढाउन लागिएको बताएका छन् । मलेसियामा भ्रमणमा रहेका श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङसँगको भेटमा उनले सेक्युरिटी गार्डका लागि मलेसिया आएका नेपाली कामदारको तलव सुविधा बढाउन आफूहरुले गृहकार्य गरिरहेको बताएका हुन् ।
मन्त्री गुरुङसँगको भेटमा गृहमन्त्री हमिदीले छिट्दै सेक्युरिटी गार्डका लागि मलेसिया आएका नेपाली कामदारको तलव बढाउने विश्वास दिलाएको मन्त्री गुरुङले जानकारी दिए । गृहमन्त्री हमिदीले सेक्युरिटी गार्डका लागि मलेसिया आएका नेपाली कामदारको तलव कम्तीमा पनि २ हजार पुर्‍याइने विश्वास दिलाएको मन्त्री गुरुङले बताए ।
मलेसियामा रहेका ९ लाख कामदारमध्ये आधाजसो सेक्युरिटी गार्ड छन् । उनीहरुले कम्तीमा १४ सयदेखि २५ सय रिङगिट पाउने गरेका छन् । भेटमा गृहमन्त्री हमिदीले आफूले सोचेको जस्तो नेपाली कामदार मलेसिया नआएको भन्दै चिन्ता प्रकट गरेका थिए । सेक्युरिटी गार्डका लागि मलेसिया आउन चाहनेहरुलाई तालिम दिएर पठाउन उनले आग्रह समेत गरेका थिए । गृहमन्त्री हमिदीले सबै नेपाली कामदारलाई तलव दिदाँ बैंक एकाउन्टमार्फत अब दिइने पनि बताए ।
नेपाली कामदारलाई राम्रो आवास क्षेत्रमा राखिने भन्दै उनले कोचाकोच गरेर नेपाली कामदार एउटै कोठामा राख्न नदिन कम्पनीहरुलाई निर्देशन दिएको समेत बताएका थिए ।
यसैबीच मन्त्री गुरुङले आजै मलेसियाका मानव संशाधनमन्त्री रिचार्ड राइटसँग पनि भेट गरेका छन् ।
मलेसियाका मानव संशाधनमन्त्री रिचार्ड राइट

भेटका क्रममा उनले फ्रि भिसा र फ्रि टिकटको निर्णय स्वागत योप्य भएको बताएको थिए । नेपाल सरकारले  कामदारका विषयमा ल्याएको नीति आफूले मन्त्रिपरिषद् बैठकमा लैजाने उनले बताए । फ्रि भिसा र टिकटको निर्णयलाई आफूहरुले गम्भीरताका साथ लिएको उनको भनाई थियो ।
भेटमा मन्त्री गुरुङले मलेसियामा घरेलु कामदारका रुपमा नेपाली महिला ल्याउन प्रस्ताव गरेका छन् । यस विषयमा छलफल गर्न दुवै देशका अधिकारी सम्मिलित एक अध्ययन समिति गठन गर्ने मन्त्री राइटले बताएका थिए ।





प्रतिक्रिया दिनुहोस्...