उद्यमी नवराजको कमाइ :एउटै बोका बेचेर २ लाख !
आचार्य भन्छन्- पहिले युरोप जान पाइँन, अहिले बोलाउँदा गइँन
काम पाइएन डिग्री पास गरेर, भैँसी पाल्छु गाउँतिर झरेर,
पशुपति शर्मा यो गीतमा भनेजस्तै धादिङको केबलपुर गाविसका ४३ वर्षिय कृषक नवराज आचार्यले गरेरै देखाएका छन् । १४/१५ वर्षअघि यूरोप जान भनेर ५ लाख रुपैयाँ डुबाएपछि बाख्रापालनमा लागेका आचार्यले स्वदेशमै मालामाल आम्दानी गर्दै आएका छन् ।
एउटै बोको १ लाख ९५ हजार रुपैयाँसम्म बिक्री गरेको आचार्यले अनलाइनखबरलाई बताए । बोयर जातको यो बोको बिउका लागि महंगो मूल्यमा बिक्री भएको उनको भनाइ छ ।
बाग्मती गोट सिड्स प्रालि स्थापना गरी उनले ०६० सालदेखि बाख्रा पालन व्यवसाय सुरु गरेका हुन् । हालसम्म उनले ५ करोड रुपैयाँ लगानी गरिसकेका छन् । वाषिर्क ५०/६० लाख रुपैयाँ बराबरका बिउ बोका बेच्दै आएको उनले सुनाए । हाल उनको फार्ममा १ सय ३५ बाख्रा-पाठा छन् ।
Goat with naryan achryja
बाख्रालार्इ पानी र ढुटो खुवाउँखदै अाचार्य
बाख्रापाल सुरु गर्नुअघि उनी धार्केमा होटल र किराना पसल गर्थे । ‘ऋणमा डुबेको थिएँ, ऋणबाट उक्सिन बिनाप्रतिस्पर्धाको व्यवसाय गर्नु मेरा लागि आवश्यक थियो । त्यसैले बाख्रापालन गर्ने सोच बनाएको हुँ ।’ उनले भने ।
अफ्रिका र मुब्बईबाट बीउ बोका
आचार्यको फार्ममा अफ्रिका र मुम्बईबाट ल्याइएका बीउ बोका छन् । तीन वर्षअघि एउटा बोको र एउटा बाख्रोलाई अफि्रकाबाट ४ लाख रुपैयाँ तिरेर ल्याएका थिए । ‘बाख्राको एयरपोर्ट ट्याक्समात्रै ४० हजार तिरेँ’ उनी भन्छन् ।
भूकम्पमा भागदौड गर्दा अफ्रिकाबाट ल्याएको बाख्रो मरेको उनले सुनाए । भारतको मुम्बईबाट ल्याएको बीउ बोको भने अझैसम्म छँदैछ ।
यूरोप जान पाँच लाख डुबाएपछि….
द्वन्द्वबाट विस्थापित भएर ०५७/०५८ तिर दिल्ली पुगेका आचार्यले युरोप जान निकै ठूलो कसरत गरे । यूरोपकै चक्करमा ५ लाख रुपैयाँ खर्चे । २ लाख दलाललाई खुवाए । तर, भिसा पाएनन् ।
त्यसबेलासम्म उनी १८/२० लाख रुपैयाँ ऋणमा डुबिसकेका थिए । ‘के गरेर ऋण तिर्ने भनेर सोच्दा बाख्रापालन गर्ने सोच आयो ।’ स्मरण गर्दै आचार्यले भने ।
यूरोप र अमेरिकाले बोलाए, तर जान भ्याइँन
व्यवसाय फस्टाउँदै गएपछि यूरोप र अमेरिकाबाट पटक-पटक भ्रमण र तालिमका लागि निम्ता आए पनि कामको व्यस्तताले गर्दा आफू जान नपाएको उनले सुनाए । ‘फ्रान्स दुईपटक तालिमका लागि निम्ता आयो । अमेरिकामा फार्म चलाउनेहरुले पनि भ्रमणमा आउ, हामी व्यवस्था मिलाउँछौं भनेर प्रस्ताव गरे । कामको व्यस्तताले उनीहरुको निम्ता स्वीकार गर्न सकिँन ।’ आचार्यले भने । अझै २/४ वर्ष घुम्न पनि कहीँ नजाने उनले सुनाए ।
Goat3
बोयर जातको खसी
१५ लाखबाट व्यवसाय सुरु
उनले बाख्रापालनमा एकैपटक करोडौं लगानी गरेका भने होइनन् । बैंक र साथीभाइबाट ऋण लिएर अनि जग्गा बेचेर १५ लाख रुपैयाँबाट व्यवसाय सुरु गरेको उनले बताए ।
‘सुरुमा बाख्रा पाल्छु भन्दा कसैले पत्याएका थिएनन् । बैंकलेसमेत बाख्रा पालनको प्रस्ताव लिएर नआउनोस् भनेर पटक-पटक भन्यो । हरेस नखाई कन्भिन्स गर्नतिर लागेँ ।’ आचार्यले भने -अहिले सफल भएँ । सबैको उदाहरणीय पात्र भएको छु ।’
सरकारले सफल बाख्रा पालन गर्ने किसान भनेर आफूलाई देखाउने गरेको उनले दाबी गरे । ‘यो व्यवसाय गरेर यति लामो समयसम्म टिकेका सायद अरु छैनन्’ उनले भने ।
वाणिज्य बैंकको ९० लाख ऋण
उनको फार्ममा राष्ट्रिय वाणिज्य बैंकले ९० लाख रुपैयाँ ऋण लगानी गरेको छ । २० वर्ष कृषि विकास बैंकसँग कारोबार गरेका आचार्य विगत तीन वर्षदेखि वाणिज्य बैंकसँग कारोबार गर्दै आएका छन् ।
९ प्रतिशत ब्याज
बैंकले उनीसँग ९ प्रतिशत ब्याज लिँदै आएको उनले सुनाए । सरकारले युवा किसानलाई ६ प्रतिशत ब्याजदरमै ऋण उपलब्ध गराउने व्यवस्था गरिसकेको छ । त्यसो त, वाणिज्य बैंकले किसानलाई ५ प्रतिशत ब्याजदरमै ऋण लगानी गर्दै आएको छ । तर, ६ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था गर्नुअघि प्रवाह गरिएको ऋणमा भने बैंकले पनि पुनरावलोकन गरेको छैन ।
‘६ प्रतिशतमा ऋण पाइन्छ भन्ने थाहा छ, तर उहाँहरु त्यही अनुसारले पुनरावलोकन गर्दै हुनुहुन्छ होला भनेर कुरा गर्नचाहीँ गएको छैन ।’ उनले भने । व्यवसायमा सफलता हासिल गर्दै गएपछि बैंकहरुले आफ्नो ग्राहक बन्न आग्रह गरिरहेको उनले बताए । ‘सस्तो व्याजमा ऋण दिन्छु भन्दै धेरै बैंकरहरु आउनुहुन्छ’ उनी भन्छन् ।
संकटको वर्ष ०६५
व्यवस्थापकीय कमजोरीका कारण ०६५ सालमा १ सय २० वटा बाख्रा मरेको उनले बताए । ‘त्यो वर्ष ८/१० लाख घाटा लाग्यो । ठूलै संकट पर्यो ।’ उनले भने – त्यसपछि म सिरियस भएर व्यवसायमा लागेँ । अहिले खासै समस्या छैन ।’
वर्षमा २ करोडका बाख्रा बेच्ने योजना
गएको वर्ष मात्रै उनले ६० लाख रुपैयाँ बराबरका बोका बेचेका थिए । आगामी तीन वर्षभित्र वर्षमा २ करोड रुपैयाँ बढीका बाख्रा-पाठा बिक्री गर्ने योजना रहेको उनले सुनाए । त्यसका लागि निकट भविष्यमै २/३ करोड लगानी थप गर्ने उनले बताए ।
Goat 2बोयरको विषेशता
विश्वभर बोयर जातको खसीको मासुको लोकप्रियता बढ्दै गएको उनले सुनाए । यसको मासु रेड नभई हृवाइट मिट भएकाले मानिसका लागि स्वस्थकर भएको उनले दाबी गरे । कोलस्ट्रोल भएका व्यक्तिहरुले रेड मिट र फ्याट खान हुँदैन, तर बोयर जातको खसीको मासु खाँदा खासै समस्या नहुने उनको भनाइ छ ।
सामान्यतया लोकल खसीहरु ४०/४५ किलोका हुन्छन् । तर, यो जातका खसी ८०/९० किलोसम्म हुन्छ र यसमा ६८ प्रतिशत मासुको मात्रा हुन्छ । त्यसैले किसानका लागि पनि यो जातको बाख्रा पाल्नु लाभदायक भएको उनले बताए ।
बोको किन्न २ वर्ष
मागअनुसार बिउ बोकाको आपूर्ति गर्न नसकिएको उनले सुनाए । यसअघि बुकिङ गरेको २ वर्षपछि मात्रै ग्राहकले बोका किन्न पाउँथे । तर, अब भने २/३ महिनामै उपलब्ध गराउने उनले बताए ।
पाँच सय पाल्ने क्षमता
फार्म रहेको ठाउँमा उनको ३० रोपनी जग्गा छ । अहिले फार्मको क्षमता बढीमा २ सय ५० बाख्रा पाल्ने क्षमताको रहेको र निकट भविष्यमै पाँच/छ सय पाल्न सक्ने क्षमताको बनाउने उनको योजना छ । उत्पादनका लागि बाख्रा राख्ने र बोका बिक्री गर्ने योजना रहेको उनले सुनाए ।
पाठा-पाठी हुर्किन २ वर्ष लाग्ने उनको भनाइ छ । अहिले उनको फार्ममा अधिकांश बोयर र बोयर क्रस बाख्रा-पाठा छन् ।
आधा दर्जनलाई रोजगारी
आचार्य दम्पती पूर्णकालीन र दुई छोराहरु आंशिकरुपमा फार्ममा काम गर्छन् । त्यसबाहेक दुईजना पूर्णकालीन कामदार छन् ।
Boka Farm
बाख्रा फार्म
देशभरका किसान आए
फार्म हेर्न देशभरका किसान आउने गरेको उनले बताए । ‘फार्म हेरेपछि र मसँग भेटेपछि त्यो व्यवसायी सफल हुन्छ ।’ उनले भने । एक वर्षमा तीन हजार बढीले फार्मको अवलोकन गर्ने गरेको जानकारी दिए ।
मन्त्रीदेखि सेनापतिसम्म आए
आचार्यको बाख्राफार्ममा पूर्वमन्त्रीहरु सुरेन्द्र पाण्डे, अनिलकुमार झा, निवर्तमान प्रधानसेनापति छत्रमानसिंह गुरुङ, सूचना आयोगका प्रमुख आयुक्त तथा पूर्वसचिव कृष्णहरु बास्कोटा, विभिन्न मन्त्रालयका सचिवहरु र दलका दर्जनौं स्थानीय नेताहरुले अबलोकन गरिसकेका छन् ।
तीन योजना
निकट भविश्यमै बाख्रा पालन गर्न चाहनेहरुका लागि तालिम सञ्चालन गर्ने उनले बताए । ‘तालिमको कोर्स कस्तो बनाउने भनेर अध्ययन गरिरहेको छु’ उनले भने -त्यसपछि पुँजी थपेर फार्म ठूलो बनाउने र फार्मभित्रै एउटा स-सानो रेस्टुरेन्ट सञ्चालन गर्ने उनको सोच छ ।’

