काठमाडौंमा हैजाको संक्रमण


फोटो :शुक्रराज ट्रपिकल अस्पताल,टेकु
काठमाडौं: काठमाडौं उपत्यकामा हैजाका बिरामी ह्वात्तै बढेपछि महामारीको रूप लिनसक्ने जोखिम देखिएको छ। 
 
हैजाका बिरामी धमाधम अस्पताल भर्ना हुने क्रम बढेको छ। टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा हैजाका २२ जना बिरामी उपचारका लागि भर्ना भएका छन्।गत साउन १५ गतेदेखि कुलेश्वर, कालीमाटी र त्यसआसपासका बस्तीमा बस्दै आएका व्यक्तिमा फाट्टफुट्ट हैजाका जीवाणु देखिएका थिए। 
 
अस्पतालका सरुवारोग विशषज्ञ डा. शेरबहादुर पुनले पछिल्लो दुई सातामा मात्रै एक सय १२ जना उपचारपछि घर फर्केको बताए। उनका अनुसार हैजाबाट एउटा परिवारका पूरै सदस्यसमेत थलापरेका छन्।
 
'फाट्ट्फुट्ट बिरामी त पहिले पनि आएका थिए तर पछिल्लो सातादेखि बिरामीको संख्या बढेको छ', पुनले बिहीबार अन्नपूर्णसँग भने, 'समयमै रोकथाम हुन सकेन भने यसले महामारीको रूप लिनसक्ने जोखिम बढेको हो।' पुनका अनुसार उपचारका लागि आउने अधिकांशले ट्यांकर र जारको पानी पिउने गरेको बताएका थिए।त्यस्तो पानी नतताई पिएकाले हैजा फैलिएको हुनसक्ने निष्कर्ष चिकित्सकले निकालेका छन्।
 
हैजाको संक्रमण फैलिन थालेपछि स्वास्थ्य सेवा विभागको महामारी तथा रोग नियन्त्रण महाशाखाले अनुसन्धान सुरु गरेको छ। खोलाबाट ल्याएर ट्यांकरमार्फत वितरण गरेको पानी खाँदा हैजा फैलिएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको महाशाखाका प्रमुख डा. बाबुराम मरासिनीले बताए। 
 
'हैजाको संक्रमणबाट मानिस थला पर्न थालेपछि हामीले खोज अभियान सुरु गरेका छौं', उनले भने, 'अहिलेसम्म हैजाका ३० जना बिरामी भेटिएका छन्।' कडाखाले हैजासमेत बिरामीमा देखिएकाले रोग फैलिने खतरा रहेको उनले बताए।
 
पुनले हैजा र झाडापखालाको संक्रमण धेरैजसो दैनिक मजदुरी गरेर खाने मानिसमा देखिएको बताए। पिउने पानी र खानाबाट एकअर्कामा छिट्टै सर्ने भएकाले हैजाबाट बच्न चिकित्सकले आग्रह गरेका छन्।
 
अस्पतालमा उपचारका लागि आएका कालीमाटी बस्ने मंगल साहले प्रदूषित हुन्छ भन्ने थाहा पाउँदापाउँदै पनि आफूहरूले ट्यांकरको पानी पिउने गरेको बताए। 'म ग्यारेजमा काम गर्छु। यसको कमाइले दुई छाक भात खान पनि मुस्किल पर्छ। कहाँ सकिन्थ्यो र पानी तताउन? ' उनले भने, ‘उपचार गर्ने पैसा जुटाउन त नसक्ने भइयो।' हैजाबाट आफ्नो परिवारमा एकपछि अर्को सदस्य थलापरेको उनले बताए।
 
वर्षायाममा हैजा, झाडापखालालगायत अरू रोगबाट बच्न पानी उमालेर मात्र पिउन, सडेगलेका र बासी खानेकुरा नखान तथा खाना खानुअघि र पछि राम्रोसँग हात धुन चिकित्सकले सुझाव दिएका छन्। 
 
स्वास्थ्यमा तीन नियुक्ति
सरकारले बासँबारीस्थित सहिद गंगालाल हृदय केन्द्रको निर्देशकमा डा. ज्योतेन्द्र शर्मालाई नियुक्त गरेको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री खगराज अधिकारीले बिहीबार उनलाई नियुक्त गरेका हुन्।राष्ट्रिय ट्रमा सेन्टरको निर्देशकमा पनि बिहीबार नै डा. बुलन्द थापा नियुक्त भएका छन्। मन्त्रिपरिषद्को निर्णयअनुसार थापा नियुक्त भएका हुन्। सरकारले नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा चन्द्रकला शर्मालाई नियुक्त गरेको छ।






प्रतिक्रिया दिनुहोस्...