भाटभटेनी सुपरमार्केट का गार्ड नै चोरीमा संलग्न


फोटो :फाइल फोटो
काठमाडौं: राजधानीको चुच्चेपाटीमा सञ्चालित भाटभटेनी सुपरमार्केटमा काम गर्दै आएका दुई सुरक्षा गार्ड चोरीको आरोपमा पक्राउ परेका छन्।
प्रहरीले उनीहरूबाट चोरीका समानसमेत बरामद गरेको छ। पक्राउ पर्नेमा रामेछाप गेलु घर भएका शेरबहादुर बुढाथोकी र नुवाकोट कालिकास्थान घर भएका दुर्गाबहादुर भण्डारी छन्। प्रहरीले भण्डारीको गोंगबु बानियाँटारस्थित डेराबाट चोरीका थुप्रै सामान बरामद गरेको छ।
चार वर्षदेखि भाटभटेनीमा सुरक्षा गार्डको काम गर्दै आएका भण्डारी र बुढाथोकीले चोरी गरिरहेको भिडियो सीसी क्यामेराले कैद गरेका कारण उनीहरू पक्राउ परेका हुन्। महानगरीय प्रहरी वृत्त बौद्धले दुवैलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ।
वृत्तका प्रमुख डीएसपी नरहरि रेग्मीका अनुसार राति चाबीसमेत आफूसँगै राखेका भण्डारीले भाटभटेनीका अधिकांश ब्लकबाट चोरी गर्न भ्याएका थिए। भण्डारीले बुढाथोकीको मिलोमतोमा सुटकेस, कार्पेट, तामाको थाली, लोटा, प्रेसरकुकर, हटकेस, इलेक्ट्रोनिक टर्चलाइट, मिक्स्चर, लेडिज जिन्स पाइन्ट, ब्याग, स्विमिङ कस्टमलगायत एक सय ४१ प्रकारका सामान चोरी गरेका थिए।
‘भण्डारीको कोठामा छापामार्दा प्रहरी नै जिल खायो। चोर्न पनि केही बाँकी राखेका रहेनछन्। बुढाथोकीको कोठाबाट भने केही फेलापरेको छैन। उनले मतियारको काम गरेको हुनसक्ने आशंकामा अनुसन्धान अगाडि बढेको छ', डीएसपी रेग्मीले भने।
११ जुवाडे पक्राउ
प्रहरीले ललितपुर खन्ना गार्मेन्टस्थित राज प्रजापतिको डेरामा जुवा खेलिरहेका ११ जुवाडेलाई पक्राउ गरेको छ। उनीहरू ६ बुक तास र दुई लाख ५१ हजार पाँच सय ५५ रुपैयाँसहित पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा भैंसेपाटीका रामकृष्ण बुढाथोकी, नक्खु दोबाटोका बद्री तामाङलगायत ११ जना छन् । बुधबार साँझ प्रहरीले छापामारी उनीहरूलाई नियन्त्रणमा लिएको ललितपुर प्रहरीका प्रवक्ता किसनसिंह थापाले बताए। पक्राउ परेका सबैलाई ललितपुर जिल्ला अदालतमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
उपभोक्ता ठग्ने व्यापारी समातिए
भ्रमपूर्ण विज्ञापन गरेर उपभोक्ता ठगेको अभियोगमा बिहीबार एक व्यापारी पक्राउ परेका छन्।
यौनवर्द्धक तथा यौनसम्बन्धी विभिन्न प्रकारका तेल, क्रिम र उपकरणका विषयमा नेपाली बजारमा विभिन्न प्रकारका भ्रामक तथा झूटो विज्ञापन गरेर उपभोक्तालाई ठगेको भन्दै वाणिज्य तथा आपूर्ति विभागले पुतलीसडकस्थित ग्लोबल टीभी प्रोडक्ट सपका सञ्चालक कुमार भारतीलाई पक्राउ गरेर प्रहरीको जिम्मा लगाएको हो।पत्रपत्रिका, टेलिभिजन र रेडियोमार्फत समाजमा गलत सन्देश जाने गरी भ्रामक विज्ञापन गरेर उपभोक्ताबाट अत्यधिक मुनाफा असुल गरेको अभियोगमा कालोबजारी र केही अन्य सामाजिक अपराध तथा सजाय ऐनअन्तर्गत पक्राउ गरेर प्रहरीलाई जिम्मा लगाएका छौं', विभागका निर्देशक हरिनारायण बेलबासेले भने।
उनका अनुसार भारतीले मलेसियाबाट आयात गरिएको डेइम ड्युरोइल मसाज आयलका बारेमा भ्रामक प्रचार गरेर बिक्री गर्दै आएका थिए।





प्रतिक्रिया दिनुहोस्...