पूर्वरानी कोमलकी सुसारे नन्दा मल्लका नाममा चार अर्ब


सम्पत्ति शुद्धिकरण विभागमा ०७२ भदौ ५ गते दर्ता भएको उजुरीको दर्ता नम्बर १२४ हो । हिजो सामान्य हैसियत भएकी नन्दा मल्ल १० वर्षमा कसरी अरबौँ रुपैयाँको मालिक बनिन्, त्यसको छानबिन गरी स्रोत नखुलेको सम्पत्ति छानबिन गर्न माग गरिएको छ । मल्लले उजुरी परेपछि स्रोत देखाउनुपर्छ भनेर निकटस्थ तथा नातेदारका नाममा पनि सम्पत्ति राखेको उजुरीमा उल्लेख छ ।४ अर्ब बराबरको सम्पत्तिको विवरणसहित उजुरी दिँदा पनि सरोकारवाला निकायले खोजी नगरेको जिकिर गरिएको छ । सरोकारवाला निकायले मल्लको स्रोत नखुलेको सम्पत्तिको छानबिन गरी जफत गरी कडा कारबाही गरिनुपर्ने माग पनि गरिएको छ । नन्दा मल्लले सम्पत्तिको स्रोत पुष्टी गर्न विभिन्न ब्यक्तिबाट सापटी लिएको नक्कली कागजसमेत विभिन्न निकायमा पेश गरेको खुलेको छ । एक लाख पनि सापटी दिन नसक्ने हैसियत भएकाहरुसँग १ करोड रुपैयाँसम्म मल्लले ऋण लिएको कागज बनाएर सम्पत्ति शुद्धिकरण विभागको आँखामा छारो हाल्ने प्रयास गरेको बुझिएको छ । नन्दा मल्लले अभिनास उप्रेतीसँग ६० लाख, राजबहादुर मल्लसँग २५ लाख, भरत रोक्कासँग २५ लाख, अभिनाष उप्रेतीको सालीसँग ४० लाख, इन्द्रबहादुर थापाको नाममा १ करोड रुपैयाँ सापट लिएको कीर्ते कागजात बनाएको प्रमाण सम्पत्ति शुद्धिकरण नियन्त्रण विभागले प्रमाण आवश्यक परे दिने दाबी उजुरीकर्ताले गरेका छन् । त्यसका अलावा मल्लसँग बिल नभएको सुन १६५० ग्राम (डेढकिलो भन्दा बढी) र ५ करोड रुपैयाँ भन्दा बढी नगद घरमै मौज्दात रहेको उजुरीकर्ताले बताए । मल्लको सम्पत्ति छानबिनको बिषय अख्तियारले सम्पत्ति शुद्धिकरण विभागमै पठाइसकेको छ । सम्पत्ति शुद्धिकरण नियन्त्रण विभागका महानिर्देशक केवल भण्डारीले आपराधिक कार्यबाट आर्जन गरेको सम्पत्ति छानबिन गर्ने काम विभागको भएको बताए । मल्लको बारेमा बेनामी र नाममा पनि उजुरी परेको बताउदै उनले भने, ‘अनुसन्धान भइरहेको छ ।’ पत्रपत्रिकामा समाचार आएपछि मालपोत कार्यालयमा कित्ता नम्बर लिएर बुझ्दा मल्लको नाममा कतिपय जग्गा फेला नै नपरेको बताए । उजुरी परेपछि विभागले छानबिन र सोधपुछ गरेको छ । मल्लले विवरण बुझाइरहेकी छिन् । विभागमा ऋण लिएर गरेको ब्यवसायबाट आर्जन गरेको सम्पत्ति पनि अस्वभाविक ढंगले कमायो भनेर उजुरी दिने प्रवत्ति बढेको छ । उजुरी परेपछि बुझ्दा बैंकबाट ऋण लिएर ब्यवसाय गरिरहेको भेटिन्छ । रिसइबीले उजुरी हाल्ने प्रवृत्ति बढेको उनको भनाइ छ–विभाग मुख्यतया अपराधिक कार्यबाट आर्जित सम्पत्ति विभिन्न ब्यवसायमा लगानी गरेकोबारेमा छानबिन गर्ने निकाय हो भन्ने बुझिदिनुपर्यो । अख्तियारमा परेको उजुरीमा नन्दाको नाममा काठमाडौँको बुढानीलकन्ठमा २५ रोपनी जग्गा र ८ वटा घर छन् । जग्गा र घर नन्दा मल्ल, लक्ष्मी सिंह, सावि सिंह, लालबहादुर मल्ल, बखत सिंह, रणबहादुर सिंह, अभिनाष उप्रेतीको नाममा छ । काठमाडौं महानगरपालिका वडा नम्बर ३ बसुन्धरामा सात रोपनी जग्गा र जग्गामा बनेका चार घर नन्दा मल्लकै नाममा छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १७ स्थित १० कठ्ठा ३ धुर र एउटा घरसमेत छ । सुर्खेतको विनपामै बखत सिंहको नाममा १० कट्ठा ३ धुर, नन्दा मल्लको नाममा १० कट्ठा र अनिपाल मल्लको नाममा १५ कठ्ठा जग्गा र एउटा घर रहेको छ । वीरेन्द्रनगर नगरपालिका १७ मै कर्णबहादुर मल्लको १० कठ्ठा जग्गा र एउटा घर छ । अनिपाल मल्लको नाममा बाँकेको कोहलपुरमा पनि जग्गा रहेको उजुरीमा उल्लेख रहेको समाचार दृष्टिले लेखेको छ ।




प्रतिक्रिया दिनुहोस्...