धन कमाउने आसले मलेसिया पुगेका एक युवा वैशाखी टेक्दै घर फिर्ता पद्नुस पुरा


आइतबार बिहान करिब ६ बज्दा क्वाललाम्पुर विमानस्थलको वेटिङ रुममा पूर्वप्रधानन्यायाधिश तथा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्मासँग मलेसियामा रहेका नेपाली कामदारको अवस्था बारे गफगाफ भइरहेको थियो। मंगोलियामा भएको एसिया प्यासेफिकको अधिवेशनमा सहभागी भएर स्वदेश फर्कन लागेका शर्माको क्वाललाम्पुरमा ट्रान्जिन्ट रहेछ। 
सातादिन मलेसिया बस्दा नेपाली कामदारको अवस्थाबारे मैले थाहा पाएका कुरा शर्मालाई बताउँदै थिएँ। हाम्रै अगाडि दुई युवा बोडिङ पास लिएर जिएट गेटतर्फ लम्कदै थिए। जुन गेटमा हामी पनि बसिरहेका थियौं। आर्यन अनुहारका ती युवा हामीलाई नेपाली जस्तै लाग्यो। अझ नेपाल आउन तयारीमा रहेको विमान चढ्ने गेटतिर उनीहरू आइरहेका थिए। उनीहरुको अनुहारमा कुनै चमक थिएन। वैशाखीको साहरामा उनीहरु सुस्तरी अघि लम्कदै थिए। एक जनाको खुट्टा बेस्सरी सुनिएको थियो, अर्कोको सुकेको थियो। उनीहरु हामी बसेको ठाउँतिर आइपुगे। छेउका कुर्सीमा बसे। लामो सास फेरे। 
अनि एकजनाले भन्यो– हवाइजहाजसम्म पुग्न यहीँबाट जाने हो नि? अर्कोले मुन्टो हल्लाउँदै हो भन्ने संकेत गर्‍यो। उसको बोली फुटेन। उनीहरुले नेपाली भाषा बोलेपछि हाम्रो अनुमान सही निस्कियो। उनीहरु महोत्तरी बर्दिबासका ईश्वर साह र रौतहट बागमतीका बुद्धिमान बजु रहेछन्। साह १८ महिनाअघि राजधानीको चप्पल कारखानामा रहेको आरआर ग्रुप म्यानपावरबाट मलेसिया उडेका थिए। १२ घन्टा काम, १४ सय रिङगेट कमाउने सपना सजाएर उनी मलेसियाको क्वाललाम्पुर पुगेका थिए। कम्पनीले कन्ट्रयाक्ट मार्फत् कोकाकोला कम्पनीमा उनलाई काम गर्न खटायो। तर नेपालमा म्यानपावर कम्पनीसँग गरेको सम्झौता अनुसार उनले काम पाएनन्। भनेको जति तलब पनि दिएन। मासिक ९ सय रिङरिटमा चित्त बुझाउनु पर्ने भयो। त्यही पैसाले खाना र बसाईँको जोहो गर्नुपर्थ्यो। नेपालमा म्यानपावर कम्पनीलाई १ लाख ६० हजार बुझाएर मलेसिया पुगेका उनलाई कमाइ हुन छाडेपछि ऋण कसरी तिर्ने भन्ने पीरले सताउन थाल्यो। १० महिनाअघि रौटहटका बुद्धिमान बजुपनि डमरू म्यानपावरबाट मलेसिया पुगे। उनलाई पनि साहलाई जस्तै काममा खटाइयो। उनी पनि १ लाख ६० हजार तिरेर मलेसियामा काम गर्न पुगेका थिए। 
४ महिनाअघि दुवै जना सँगै मिलेर काम गरिरहेका थिए। कोकका बोतल ओसारपसार गर्ने गाडीले उनीहरूलाई कारखानाभित्रै ठक्कर थियो। दुवै जना घाइते भए। दुवै जनाको खुट्टामा चोट लाग्यो। कम्पनीले उनीहरुलाई अस्पताल लग्यो। दुवै जनाको खुट्टामा चोट लागेको थियो। कम्पनीले भाँचिएका खुट्टामा प्लाष्टर गरी उनीहरुलाई क्याम्पमा लगेर छाडिदियो। १ महिनासम्म पनि उनीहरुलाई भेटन् काम लगाउने कम्पनी, काम गरिरहेको कम्पनीको मानिसहरु गएनन्।
 ‘क्याम्पमा ४२ जना नेपाली थिए। नेपाली साथीहरुले खाना खुवाउने, कपडा धोइदिने काम गरिदिन्थे’, साहले आखाँभरी आँशु पार्दै भने। ‘प्लास्टर काट्ने समय भयो। दुवै जना आफैं अस्पताल जान सक्दैनथे। त्यसमाथि अस्पतालले महँगो शुल्क माग्ला कि भन्ने डर। जति हारगुहार गरेपनि बोलाउँदा पनि कम्पनीका मानिसहरु उनीहरुको सोधीखोजी गर्न आएनन्। केही दिनपछि कम्पनीका मान्छे त आए तर अस्पताल लैजानु साटो उनीहरुले फलाम काट्ने मेसिनले खुट्टाको प्लाष्टर काटिदिए। प्लाष्टर काटेपनि उनीहरुलाई निको भएन। खुट्टाको घाउ झन् बल्भि्कयो। साहको खुट्टा सुन्निदै गयो। बजुको खुट्टा सुक्न थाल्यो। ‘४ महिनापछि क्याम्पमा रहेका साथीहरुले १० देखि ५० रुपैयाँसम्म उठाए, हामीलाई घर जाने प्लेनको टिकट काटिदिए, विमानस्थलसम्मै पुर्‍याएर गए’, बजुले नेपाली साथीहरुले गरेको सहयोग सम्झेर आँशु थाम्न सकेनन्। मलेसियामा ९ लाख नेपाली कामदार रहेको नेपाली दूतावासले जनाएको छ। अवैध रुपमा बस्नेहरु पनि धेरै छन्। कति कामदार अंगभंग भएका छन्, यकिन तथ्यांक दूतावाससँग पनि छैन्। ८ महिनाको अवधिमा ३ सय ८ जनाको मृत्यु भएको र २ सय २२ जना जेलमा रहेको दूतावासमा तथ्यांक छ। 
धन कमाएर सुखी जीवनको कल्पनामा साहुसँग ऋण गरेर मलेसिया हान्निएका साह र बजुले सुखी जीवनका लागि पैसा त कमाउन सकेनन्। मलेसिया जाँदा लागेको साहुको ऋण पनि तिर्न सकेनन्। त्रिभुवन विमानस्थलमा आफ्ना भाइलाई लिन बजुका दाइ रौतहटदेखि आएका थिए। उनले भाइको साथीलाई पनि घरसम्म लगिदिने बताए। जाँदा सद्धे रहेका दुवै जना फर्कदा वैशाखीको सहारामा उभिरहेका छन्। तर उनीहरुले हिम्मत भने हारेका छैनन्। खुट्टा निको भए अब नेपालमा नै केही काम गर्ने उनीहरुको योजना छ। seto paati .com





प्रतिक्रिया दिनुहोस्...