बैंककमा नेपाली अपहरणको योजनाकार गिरफ्तार
सुजन यादव भनी चिनिने श्रीचन राय
थाइल्याण्डको बैंककमा तीन जना नेपाली विद्यार्थीको अपहरणमा सङ्लग्न व्यक्तिसँग सम्पर्कमा रहेका एक नेपालीलाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरी सार्वजनिक गरेको छ । बैंककमा पाकिस्तानी नागरिकले सञ्चालन गरेको रेस्टुरेण्टका कामदारले पुस ४ गते एजम्सन विश्वविद्यालयमा अध्ययनरत विद्याथीहरु रोनेश श्रेष्ठ, कर्ण हाचेथु र विभुष रिजाललाई राति ११ बजे अपहरण गरेका थिए । अपहरणपछि माग गरिएको फिरौतीवापतको रकम बुझिलिने जिम्मा लिएका सर्लाही छतौनका ३० वर्षीय सुजन यादव भनी चिनिने श्रीचन रायलाई थप अनुसन्धानका लागि ब्यूरोले काठमाडौँबाट पक्राउ गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । राय मातृका यादव नेतृत्वको नेकपा माओवादीका उपत्यका इन्चार्ज रहेको बताइएको छ । अपहरणपश्चात अर्को दिन पुस ५ गते बिहान १० बजे अपहरणकारीले नेपालमा विद्यार्थीका अभिभावकलाई टेलिफोन गरी रु एक करोड फिरौती मागेपछि आफूहरुले अनुसन्धान सुरु गरेको व्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक हेमन्त मल्लले जानकारी दिनुभयो । अनुसन्धानको क्रममै व्युरोका प्रहरी उपरीक्षक पीताम्बर अधिकारी पुस ६ गते बैंकक गई त्यहाँको प्रहरीसँगको समन्वयमा अनुसन्धान सुरु गर्नु भएको थियो । व्युरोले दिएको सूचनाको आधारमा समन्वय गर्दै उपरीक्षक अधिकारीसहितको संयुक्त अनुसन्धान टोलीले अपहरणमा परेका विद्यार्थीलाई पुस ८ गते अपहरणमुक्त गराउन सफल भएको व्युरो प्रमुख मल्लले बताउनुभयो । अपहरणमा भारतीय, पाकिस्तानी, थाइल्याण्डका नागरिकसहित आठ जनाको संलग्नता रहेको अहिलेसम्मको अनुसन्धानबाट खुलेको र तीमध्ये तीन जना पक्राउ परेपनि अन्य फरार रहेको व्युरोले जनाएको छ ।
