खाडीबाट पैसासंगै रोग पनि भित्रिदै


नेपालको वैदेशिक रोजगारीको प्रमुख गन्तव्य खाडी मुलुक हो । दशौं लाख नेपाली मध्यपूर्वका विभिन्न मुलुकमा कार्यरत छन् । उनीहरुले पठाएको रकमबाटै मुलुकको अर्थतन्त्र धानिएको छ । तर, अब खाडीबाट पैसासंगै रोग पनि भित्रिन थालेको छ ।

मध्यपूर्वमा कामदार भएर बसेका नेपालीहरूबाट त्यहाँका रैथाने रोगहरू भित्रिएका छन् । त्यहाँबाट घर फर्केका केही युवामा क्युटेनियस लेस्मेनियासिस (छालामा घाउका रूपमा देखिने कालाजार) र सिस्टोसोमियासिस (कडा र दीर्घकालीन परजीवीय संक्रमण) पाइएको छ । खाडी मुलुकमा काम गरे फर्केका चारजना नेपालीमा यी समस्या देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बाबुराम मरासिनीले बताउनुभएको छ । उनीहरूले ती रोगको राजधानीकै अस्पतालमा उपचार गराएका छन् । सिस्टोसोमियासिसबाट छाला चिलाउनुका साथै शरीरका अन्य भागमा संक्रमण समेत हुन्छ । शरीरमा यो परजीवीको संख्यामा बृद्धि भएपछि पखाला, पेट दुखाइ, कलेजो, फियो सुन्निनेजस्ता समस्यासमेत देखिन सक्छ । तर समस्या पुरानो भएपछि झन् जटिलता थपिदै जान्छ । पिसाबमा रगत आउने, पिसाब नली, मुत्राशयमा गाँठा पर्ने, अनि मिर्गौलासमेत बिग्रिनसक्ने डा. मरासिनी बताउनुहुन्छ । यस्तै क्युटेनियस लेस्मेनियासिसका कारण शरीरमा पिलोजस्तो घाउ हुन्छ । महामारी विशेषज्ञ डा मानसकुमार बनर्जीका अनुसार प्रोटोजोआ नाम गरेको परजीवीले गर्दा हुने यो रोगले अनुहार नै विभत्स देखिने गर्छ । यो रोगले मृत्युसमेत हुन सक्छ । डब्लूएचओका अनुसार यो संक्रमण भएकाहरूको शरीरमा जीवनभर घाउका डोब र जटिल अपांगता देखिने गर्छ । करिब ९५ प्रतिशत यो रोग अमेरिका, भूमध्य सागरीय क्षेत्र, मध्यपूर्व र केन्द्रीय एसियामा पाइन्छ । गरिब र ग्रामीण क्षेत्रको रोग मानिने सिस्टोसोमियासिस रोग सिस्टोसोम नामक परजीवीले गर्दा सर्छ । रोग पानीमा रहने चिप्लेकिरा मा पाइन्छ । संक्रमित पानीबाट स्वस्थ व्यक्तिमा सर्छ ।




प्रतिक्रिया दिनुहोस्...