१९ पुस, काठमाडौं । चुरे भावर राष्ट्रिय पार्टीका नेता बाबु थापाले सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्या किन गरे होलान् ? यो कौतुहलको अन्त्य गर्दै शनिबार नेपाल प्रहरीले भनेको छ- न्यायाधीश बमको निर्णयमा चित्त नबुझेपछि थापाले उनको हत्या गरेका हुन् ।
आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार चुरेभावर पार्टीका तत्कालीन उपाध्यक्ष बाबु थापाले न्यायाधीश बमको हत्या गरेका हुन् । हत्याको अभियोगमा प्रहरीले थापासहित चार जनालाई घटना भएको तीन वर्षपछि पक्राउ गरेको छ ।
प्रहरीले बमको हत्यामा संलग्न रहेको आरोपमा थापासहित चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा करण चौधरी, प्रेमराज खड्का र दीपक कर्णसमेत छन् । घटनामा संलग्न भनिएका सञ्जय रसाइली साउदी अरबमा रहेकाे प्रहरीले जनाएकाे छ ।
यसरी भयो न्यायाधीश बमकाे हत्या
अनुसन्धानका आधारमा प्रहरीले दिएको जानकारी अनुसार चुरेभावर राष्ट्रिय पार्टीमा भएको विवाद नै न्यायाधीश बमको हत्याको कारक बन्न पुग्यो ।
चुरेभावर पार्टीमा अध्यक्ष केशव मैनाली र उपाध्यक्ष थापावीचको विवाद सुरुमा निर्वाचन आयोगमा पुगेको थियो । आयोगले मैनालीको साटो थापाको समूहलाई वैधानिकता दिएको थियो ।
निर्वाचन आयोगबाट वैधानिकता नपाएपछि मैनाली सर्वोच्च अदालतमा गएका थिए । सर्वोच्च अदालतमा न्यायाधीश बमको एकल इजलासले थापा वैधानिकतालाई रोक्ने गरी अन्तरिम आदेश दिएको थियो ।
न्यायाधीश बमको यस्तो निर्णयले आफ्नो तीन वर्षको राजनीति समाप्त भएको भन्दै थापाले न्यायाधीशको हत्या गर्ने योजना बुनेको प्रहरीले बताएको छ ।
सर्वोच्च अदालतबाट आफ्नो विपक्षमा आदेश आएपछि थापाको समूहले ‘नेपाली जनता स्वतन्त्र स्वाभिमान पार्टी’ गठन गरेर न्यायाधीश बमको हत्या गरेको प्रहरीले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।
बल्खु घर भएका न्यायाधीश बममाथि ०६९ जेठ १८ गते बंगलामुखी मन्दिरबाट फर्केर अदालत जाँदै गर्दा युएन पार्कमा मोटरसाइकल चढेर आएका व्यक्तिले गोली प्रहार गरेका थिए । शरीरका विभिन्न भागमा ६ गोली लागेका बमको नर्भिक अस्पतालमा पुर्याउँदा नपुर्याउँदै मृत्यु भएको थियो ।
न्यायाधीश बमका अंगरक्षक महेश गिरी र सँगै गाडीमा रहेका राम गिरीलाई पनि गोली लागेको थियो ।
दिनदहाडै भीआइपीमाथि गोली प्रहार भए पनि अपराधीहरु उम्कन सफल भएका थिए ।
बाबु थापाले किन गरेछन् न्यायाधीश बमको हत्या ? पार्टीको विवादले लियो न्यायाधीशको ज्यान -