फेवातालमाथि केबलकार बन्ने
पोखरा, चैत्र १८ - पर्यटकीय केन्द्र लेकसाइडको वसुन्धरा पार्कदेखि पुम्दीभुम्दीको शान्ति स्तुपासम्म केबलकार बन्ने खबरले पोखरेली उत्साही भएका छन् । केबलकार निर्माणपछि गन्तव्य थपिएर पर्यटकीय गतिविधि बढ्ने र पर्यटकको बसाइ अवधि लम्ब्याउनसमेत सहयोगी हुने पर्यटन व्यवसायीले बताए ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र मनकामना दर्शन प्रालिबीच मंगलबार निर्माणसम्बन्धी सम्झौता भएको छ । सम्झौताको खबरले पर्यटन व्यवसायीलगायत निजी क्षेत्र उत्साही भएको हो । 'केबलकार पोखराका लागि नितान्त नौलो 'प्रोडक्ट' हुनेछ,' पश्चिमाञ्चल होटल संघका अध्यक्ष भरतराज पराजुलीले भने, 'यसलाई हामी स्वागतसहित सहयोग गछाै ।' विशेषगरी आन्तरिक पर्यटनमा थप टेवा पुर्याएर पर्यटकको बसाइ अवधि लम्बिने विश्वास लिइएको उनले बताए ।
सम्झौतापछि विस्तृत सम्भाव्यता अध्ययन, इन्जिनियरिङ सर्भेलगायत काम थालिने निर्माणका लागि छनोट भएको मनकामना दर्शन तथा चितवन कोई ग्रुपका कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठले बताए । सम्झौताअनुसार ६० दिनभित्र सबै अध्ययन सक्नुपर्ने र कारणबस नसकिएमा ३ महिना समय थप्ने प्रावधान छ ।
साढे ३ महिनाभित्रै जग्गा प्राप्तिका लागि प्रक्रिया थालिने र ६ देखि ७ महिनाभित्र निर्माणको काम थालिने श्रेष्ठले बताए । साझेदारी कम्पनी (ज्वाइन्ट भेन्चर) प्रालि, ग्रुप र अस्टि्रयाको डोप्पलमायर कम्पनीले केबलकार बनाउन लागेका हुन् ।
केबलकार आन्तरिक तथा बाह्य पर्यटकका लागि थप आकर्षण बन्ने पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष बिन्दुकुमार थापाले बताए । 'यो एउटा सुरुवात हो । यसले पोखराको पर्यटनमा राम्रो सन्देश दिनेछ,' उनले भने । केबलकारको दूरी छोटो भएकाले विस्तार गरी पन्चासेसम्म पुर्याउन सके अझै राम्रो हुने थापाले बताए । १ दशमलव ३ किलोमिटर लामो केबलकार निर्माणका लागि १ अर्ब ३१ करोड लागत अनुमान गरिएकामा सर्वोच्च अदालतमा मुद्दा दायर भएपछि १९ महिनासम्म प्रक्रिया अवरुद्ध भएको थियो । गत माघ ११ मा सर्वोच्च अदालतले सबै मुद्दा खारेज गरेपछि निर्माण प्रक्रियाले गति लिएको हो ।
यहाँ केबलकार बनाउन सरकारले २०६८ मा प्रक्रिया थालेको थियो । आर्थिक प्रस्तावमा प्रतिस्पर्धा नभएको सहित प्रक्रियाको विषयलाई लिएर एक कम्पनीले रिट हालेपछि ०७० साउनमा सर्वोच्चको अन्तरिम आदेशले पहिलो पटक काम रोकिएको थियो । सोही वर्षको भदौ १८ मा उक्त अन्तरिम आदेश खारेज भए पनि मुद्दा चलिरहेकाले काम अघि बढ्न सकेको थिएन ।
समयभन्दा ढिला सुरु हुने भएकाले लागत बढ्न सक्ने अनुमान प्रालिको छ ।
निर्माण, सञ्चालन र हस्तान्तरण (बुट) मोडलमा फेवाताल माथिबाट केबलकार दौडिनेछ । केबलकारले वसुन्धरा पार्कमा वाटर पार्क र अमिजमेन्ट (चिल्ड्रेन पार्क) तथा शान्ति स्तुपामा भ्युटावर, रेस्टुरेन्ट र हिन्दु धर्मावलम्बीका लागि देवीको मन्दिर पनि बनाउनेछ । सम्झौताअनुसार २ वर्ष निर्माण अवधि राखिएको छ । निर्माण सकिएपछि २० वर्षसम्म प्रालिले केबलकार सञ्चालनमा ल्याउनेछ । ५ वर्ष अवधि थप्न सकिने र त्यसपछि आयोजनाको स्वामित्व सरकारमा जाने श्रेष्ठले बताए ।
'सार्वजनिक-निजी साझेदारी -पीपीपी) नीतिलाई सरकारले अनुसरण गरेमा यस्ता पूर्वाधारमा लगानी बढ्नेछ,' कार्यकारी निर्देशक श्रेष्ठले भने । 'पोखरामा केबलकारको आवश्यकता थियो,' पर्यटन बोर्डका पूर्वकार्यकारी सदस्य वासु त्रिपाठीले भने, 'पोखरा आसपासमा पनि केबलकार सञ्चालनको ठूलो सम्भावना रहेकाले विस्तार पनि गर्नुपर्छ ।'