वैदेशिक रोजगारीका नाममा मानव तस्करीको खतरा !




२४ जेठ, काठमाडौं  विनाशकारी भूकम्पमा परी धेरै मानिसहरुले घरबार गुमाए । परिवारका सदस्यहरु पनि गुमे । तर, अब बाँचेकाहरुले फेरि त्यही भूकम्पको धुलो टक्टक्याउँदै अघि बढ्नुको विकल्प छैन । तर, उनीहरुका सामु चनौतीको ठूलो पहाड छ, कतिपयले अभिभावक नै गुमाएका छन् र अब उनीहरु आफैंले केही नगरी परिवार पाल्न सकिने अवस्था छैन । वर्षा सकिएपछि नयाँ घर बनाउनुछ । 

सरकारले केही राहत त देला तर, त्यसले पुग्दैन । भएको सम्पत्ति घरको भग्नावशेषमा पुरियो । यस्तोमा मानिसहरुले रोजगारीका लागि विदेश जाने विकल्प पनि रोज्न सक्छन् । तर, नेपाली प्रहरीले भने विपदको मौकामा पीडितलाई प्रलोभनमा पारेर वैदेशिक रोजगारीका नाममा मानव तस्करी हुने सक्ने आंशका गरेको छ । ‘आर्थिक अवस्था कमजोर भएकाले मानिसहरु रोजगारीमा जान सक्छन्’ प्रहरी प्रवक्ता नायव महानिरीक्षक कमलसिंह बमले भने-‘खासगरी महिला, बालबालिकालाई विभिन्न प्रलोभन देखाएर तस्करी गर्ने खतरा छ ।’ 

प्रहरीको तथ्यांकअनुसार वैशाखमा मानव बेचबिखनका घटना १५ वटा भएको छ भने जेठ १५ गतेसम्ममा ६ वटा घटना भएका छन् । वैशाखमा जवरजस्ती करणीका घटना १०६ वटा भएको छ भने जेठमा ३७ वटा । भूकम्प पश्चात मानव वेचविखन तथा वैदेशिक रोजगारसँग सम्बन्धित अपराधको बढ्न सक्ने जोखिम नियन्त्रण गर्ने उद्देश्यले प्रहरी प्रधान कार्यालयले उच्चस्तरीय अपराध अनुसन्धान कार्य दल गठन गरेको छ । 

प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान बिभाग महिला तथा बालबालिका सेवा निर्देशनालयका निर्देशक प्रहरी नायव महानिरीक्षक मीङमार लामाको संयोजकत्वमा गठन भएको टास्क फोर्समा केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक किरण बज्राचार्य, महिला तथा बालबालिका सेवा केन्द्रका प्रहरी उपरीक्षक दुर्गा सिंह, ईन्टरपोल शाखाका प्रहरी नायव उपरीक्षक बसुन्धरा खड्का र अपराध अनुसन्धान बिभागका प्रहरी निरीक्षक अच्युत चापागाई प्रतिनिधि छन् । 

मानव बेचविखन तथा ओसार पसार अपराधको अनुसन्धान तथा नियन्त्रण गर्न केन्द्रीय स्तरवाट समन्वय र सहयोग प्रदान गर्न छुट्टै एकाइ स्थापना गर्ने कार्ययोजना अनुसार भूकम्प पश्चात बढ्दो जोखिम नियन्त्रण गर्ने उदद्दश्यले कार्यदल गठन गरिएको हो । महिला वालवालिकालाई आत्मरक्षा तालिम वैशाखको विनाशकारी भूकम्पपछि पनि शान्ति सुरक्षाको अवस्था भने सन्तोषजनक रहेको प्रहरी निष्कर्ष छ । काठमाडौं उपत्यकासहित भूकम्प प्रभावित क्षेत्रहरुमा भने अन्य समयभन्दा अवरोध बढेको छैन । 

प्रहरीको तथ्यांकअनुसार पूर्व र पश्चिम क्षेत्रमा भने अपराधका घटना केही बढेको छ । सम्भावित अपराधको आंकलन गरेर रोकथाममा सक्रियता बढाउने प्रहरीको निर्णय छ । प्रहरीले अहिले अस्थायी शिविरहरुमा २४ घण्टे सुरक्षा दिएको छ महिला र बालबालिकाहरुलाई आत्मरक्षा तालिम समेत दिइएको छ ।





प्रतिक्रिया दिनुहोस्...