मोदीले सुशीललाई फोनमा यसो भने


'हिंसा रोक, सद्‍भाव कायम गर र सम्वादबाट समाधान खोज' 
काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार कैलालीमा भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री सुशील कोइरालालाई फोन गरेका छन् ।
 
मोदीले मंगलबार अपरान्ह प्रधानमन्त्री कोइरालालाई फोन गर्दै सोमबार भएको हिंसात्मक घटना र त्यसमा ज्यान गुमाउनेहरुप्रति समावेदना व्यक्त गरेका हुन्। मोदीले हिंसालाई निरुत्साहन गर्न र सामाजिक एकता कायम गर्न नेपाल सरकार, यहाँका राजनीतिक दल तथा नागरिकसँग आग्रह गरेको भारतीय विदेश मन्त्रालयका प्रवक्ताले जनाएका छन्। 
 
मोदीले कोइरालासँग गरेको टेलिफोन सम्वादबारे भारतीय विदेश मन्त्रालयले आफ्नो वेबसाइट विस्तृत समाचार राखेको छ। मोदीले कोइरालासँगको वार्तामा हिंसाविरुद्धको लडाइ तथा नयाँ संविधान लेखनको यात्रामा भारतको सहयोग निरन्तर रहने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले सबै पक्ष र समुदायको माग एव‌ं भावनालाई समेटेर नेपालमा छिटै समावेशी संविधान जारी हुने विश्वास पनि व्यक्त गरेका छन् । 
नेपालमा शान्ति प्रकिया र संविधान लेखनमा भएको ऐतिहासिक प्रगतिको प्रश‌ंसा गर्दै मोदीले नेपालको राजनीतिक नेतृत्वले महत्वपूर्ण मुद्दाहरुलाई सबै राजनीतिक पार्टीहरुबीचको सम्वाद र संभव भएसम्मको व्यापक नागरिक परामर्श मार्फत टुंगो लगाउन सुझाव दिएका छन्। 
 
नेपालको विविधतापूर्ण समाजमा रहेका सबै नागरिको आकांक्षालाई समेटेर एकीकृत, स्थिर, शान्तिपूर्ण र समृद्ध नेपालका लागि प्रजातान्त्रिक र समावेशी संविधान बनाउनुपर्नेमा उनले जोड दिएका छन्। 
 
मोदीले सामाजिक र राजनीतिक अस्थिरताले भर्खरैको विनाशकारी भूकम्पको पीडालाई थप बल्झाउनसक्ने चिन्ता व्यक्त गरेका छन्। उनले शान्ति, संयम र एकताका लागि अपिल गरेका छन्।





प्रतिक्रिया दिनुहोस्...