प्रहरीको हत्यामा संलग्न दशजना पक्राउ


फोटो :एसएसपी लक्षमण न्याैपानेसहितका प्रहरीको हत्यामा संलग्न थरुहटका एक कार्यकर्तालार्इ पक्रँदै प्रहरी
विजय गच्छदारका जिल्ला नेता पनि समातिए
बाँके : कैलालीको मनुवा गाविस–६ सिमल चौराहमा सोमबार ड्युटीमा खटिएका प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित ७ प्रहरीको हत्यामा संलग्न १० जनालाई प्रहरीले मंगलबार शंकास्पद अवस्थामा पक्राउ गरेको छ ।

प्रहरीले पक्राउ गरेकाहरुमा कैलालीको जोशिपुर–४ का३५ वर्षीय सुन्दरलाल चौधरी, ५५ वर्षीय खड्कबहादुर चौधरी, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका क्षेत्रीय अध्यक्ष ४४ वर्षीय रामप्रसाद चौधरी, दरख-६ नारायणपुर का १७ वर्षीय रामजनम चौधरी रहेका छन् । 
त्यसैगरी कैलालीकै मनुवा-१ का २० वर्षीय रामकुमार खठरीया, २७ वर्षीय सन्दरलाल कठरिया, २० बर्षीय दिलबहादुर चौधरी, २४ वर्षीय राजकुमार कठरिया मनुवा-४ का २२ वर्षीय हरिनारायण चौधरी र भजनी-५ बस्ने ४१ वर्षीय प्रेम बहादुर चौधरी रहेका छन् ।

प्रदर्शनका क्रममा सोमबार प्रहरी बरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम बिष्ट र केशब बोहोरा, प्रहरी हवल्दार श्याम बहादुर खड्का र प्रहरी जवान लोकेन्द्र बहादुर चन्द तथा सशस्त्र बरिष्ठ हवल्दार ललित सावद र सशस्त्र हवल्दार रामबिहारी थारुको उनीहरुसहितले हत्या गरेका थिए । 

थरुहटका कार्यकर्ताले गोली हानेर २ वर्षीय बालक टेकेन्द्र साउदको पनि हत्या गरेका थिए । टीकापुरमा नगरपालिका–६ शंकपुरमा थरुहट-थारुवानका कार्यकर्ताले निषेधाज्ञा तोड्ने क्रममा प्रहरीमाथि आक्रमण गर्दा एक सशस्त्र प्रहरीका छोरा टेकेन्द्रको ज्यान गएको थियो । 

सशस्त्र प्रहरीका सहायक हवल्दार नेत्र बहादुर साउदका २ वर्षीया छोरा टेकेन्द्र साउदको घरमै बसिरहेको अवस्थामा ज्यान गएको थियो । 

प्रहरीले यसअघि मंगलबारै प्रहरी र नाबालकको हत्यामा संलग्न चारजनालार्इ प्रहरीले कैलालीबाटै पक्राउ गरिसकेको थियो ।






प्रतिक्रिया दिनुहोस्...