पहिरो गएको ढुङ्गामा देवताको रुप देखिएपछि गाउँले चकित


रसुवा , भदौ १६ । पासाङल्हामु राजमार्गअन्तर्गत रसुवा धैवुङ गाविस–६ मा हालै गएको पहिरोसँगै खसेको ठूलो ढुङ्गामा नाग, देवी, सूर्य, चन्द्र र त्रिशूलको आकार देखिएपछि स्थानीयवासीले पूजा गर्न सुरु गरेका छन् । स्थानीय होमप्रसाद आचार्यका आनुसार केही वर्षअघिसम्म स्थानीय रामेको माइला भन्ने एक व्यक्तिले उक्त ढुङ्गामा देवीको पूजा गर्ने गर्दथे । ती व्यक्तिको मृत्यु भएपछि त्यहाँ स्थानीय कसैले पनि पूजाआजा गर्ने गरेका थिएनन् । त्यसैको कारण भगवान् रिसाएर पहिरो गएको हुनसक्ने गाउँलेको भनाइ रहेको छ ।
त्यसठाउँमा पहिरो जानुअघि नै सर्प जुधेको र घरमाथि देवीको थानसमेत रहेको दृश्य आफूले सपनामा देखेको आचार्यले सुनाए । पहिरो गएको स्थानबाट ठीक तल रहेको एउटा घरलाई मात्र यसले केही धक्का दिएको छ भने अन्य कसैलाई केही नभएपछि स्थानीय आश्चर्यमा परेका छन् । स्थानीय बासिन्दाले अब सो स्थानमा मन्दिर बनाई पूजाआजा सुरु गर्ने बताएका छन् ।
विगतमा चीनसँग भएको युद्धमा कालिका मन्दिरमा चिनियाँहरुले गाई काटेर खाएको र त्यहाँको देवता भागेको थिए भन्ने किम्बदन्ती रहेको छ । त्यतिबेला भागेको देवता त्यही ढुङ्गामा आएर लुकेको हुनसक्ने गाउँलेको भनाइ छ ।भूकम्पले जमिन फाटेको स्थानमा निरन्तर पानी छिर्दा गएको उक्त पहिरोमा परी अधिकांश घर उच्च जोखिममा रहेको छ ।





प्रतिक्रिया दिनुहोस्...