बिमल गुरुङ्ग सहित २३ नेतालाई पक्रन वारेन्ट जारी, ‘गोर्खाल्याण्ड’मा हलचल


इलाम, जेष्ठ २४ । भारतको पश्चिम बंगालस्थित दार्जिलिङ्ग सहित आसपासको क्षेत्रलाई समेटेर छुट्टै गोर्खाल्याण्डको माग गर्दै आएको गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष बिमल गुरुङ्ग सहित २३ नेताहरुलाई पक्राउ गर्न कलकत्तास्थित न्यायालयले शनिवार आदेश दिएपछि दार्जिलिङ्गमा हलचल भएको छ ।
अखिल भारतीय गोर्खा लिगका तत्कालिन अध्यक्षमदन तामाङ्गको हत्यामा संलग्न भएको ठहर गर्दै न्यायलयका न्यायाधीश गोपालचन्द्र कर्मकारको इजलासले २० दिन भित्र पक्राउ गरि गुरुङ्गसहित सबै नेतालाई जुन २३ मा हुने मुद्दाको अर्को सुनुवाइमा उपस्थित गराउन केन्द्रिय जाँच व्युरो (सिआइवी) लाई निर्देशन दिएको बताइएको छ ।
दार्जिलिङ्गस्थित ‘मुनपो न्युज अनलाईन’ले पाँच वर्ष अघि हत्या गरिएका तामाङ्गको हत्याको आरोपमा अध्यक्ष गुरुङ, नारी मोर्चा प्रमुखसमेत रहेकी गुरुङ पत्नी आशा, गोजमुका उपाध्यक्ष प्रदिप प्रधान, महासचिव रोशन गिरी लगायतलाई पक्राउ गरि अदालतमा उपस्थित गराउन न्यायालयले आदेश दिएको उल्लेख गरेको छ ।
नेपाल–भारत सीमानामा पर्ने इलामको उत्तरी मेग्मामा जन्मिएका तामाङको २१ मे २०१० का दिन दार्जिलिङकै क्लव साइडमा घाँटी रेटेर हत्या भएको थियो ।
सोही विषयलाई लिएर आज दार्जिलिङ्ग बन्द समेत गरियो । मोर्चा सन् २००७ देखि नेपाली भाषीहरुकालागि छुट्टटै राज्य गोर्खाल्याण्डको माग गर्दै पश्चिम बंगालमा आन्दोलनरत छ ।






प्रतिक्रिया दिनुहोस्...